खोजमुलक

अध्ययन २३

छुट्कारा: येशू प्रभुले मरेकालाई जीवित पार्नुभयो।

यूहन्‍ना 11:1-44

कदम १: कथा पढ्नुहोस्।

निम्न लिखित खण्ड पढ्नुहोस् वा सुन्नुहोस् ।

x1.0

लाजरसको मृत्यु

11:1लाजरस नाम गरेका एक जना मानिस बिरामी थिए। उनी मरियम र तिनकी दिदी मार्थाको गाउँ बेथानीका थिए। 2यी तिनै मरियम हुन्, जसले येशूका पाउमा अत्तर खन्याएर आफ्नो कपालले पुछिदिएकी थिइन्। तिनकै भाइ लाजरस बिरामी परेका थिए। 3यसकारण ती दुई दिदीबहिनीले येशूकहाँ यसो भन्‍ने खबर पठाए, “प्रभु, तपाईंले माया गर्नुहुने व्यक्ति बिरामी छन्।”

4यो खबर सुनेर येशूले भन्‍नुभयो, “यो बिरामीले मृत्युमा पुर्‍याउँदैन, तर परमेश्‍वरको महिमाका लागि होस् भनेर यो भएको हो; अनि यसद्वारा परमेश्‍वरको पुत्रले पनि महिमा पाउनेछ।” 5येशूले मार्था, तिनकी बहिनी र लाजरसलाई प्रेम गर्नुहुन्थ्यो। 6लाजरस बिरामी छन् भनेर सुन्‍नुभए तापनि उहाँ जहाँ हुनुहुन्थ्यो, त्यही ठाउँमा अझै दुई दिन बस्‍नुभयो। 7त्यसपछि उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “अब हामी यहूदियामा फर्केर जाऔँ।”

8तर उहाँका चेलाहरूले भने, “गुरुज्यू, केही दिन अगि मात्र यहूदियाका यहूदी अगुवाहरूले तपाईंलाई ढुङ्गाले हान्‍न खोजेका थिए, र के फेरि तपाईं त्यहीँ जान चाहनुहुन्छ?”

9येशूले भन्‍नुभयो, “दिनमा बाह्र घण्टा उज्यालो हुँदैन र? दिनको उज्यालोमा हिँड्‍डुल गर्ने मानिसले ठेस खाँदैन; किनकि त्यसले संसारको ज्योतिद्वारा देख्छ। 10तर राति हिँड्दा त्यसले ठेस खान्छ; किनकि त्यसले ज्योति पाउँदैन।”

11त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “हाम्रा मित्र लाजरस सुतेका छन्, र अब म गएर तिनलाई उठाउनेछु।”

12उहाँका चेलाहरूले भने, “प्रभु, तिनी निदाएका मात्र छन् भने निको हुनेछन्।” 13येशूले चाहिँ लाजरसको मृत्युको विषयमा भन्‍नुभएको थियो, तर उहाँका चेलाहरूले भने उनी सुतेकै छन् भनी ठानेका थिए।

14त्यसपछि येशूले तिनीहरूलाई स्पष्‍टसँग भनिदिनुभयो, “लाजरस मरेका छन्। 15अनि तिमीहरूका निम्ति म त्यहाँ नभएको पनि राम्रै भयो। किनकि यसले तिमीहरूलाई ममाथि विश्‍वास गर्ने तुल्याउनेछ। अब हामी लाजरस भएका ठाउँमा जाऔँ।”

16तब थोमा, जसलाई दिदुमस भनेर पनि चिनिन्थ्यो, उनले अरू चेलाहरूलाई भने, “हामी पनि जाऔँ, र उहाँसँगै मरौँ।”

दुई बहिनीहरूलाई येशूको सान्त्वना

17येशू आइपुग्नुहुँदा लाजरस मरेर चिहानमा राखेको चार दिन भइसकेको थियो भनेर उहाँले थाहा पाउनुभयो। 18यरूशलेमदेखि बेथानी लगभग तीन किलोमिटर टाढामा थियो। 19धेरै यहूदीहरू, मार्था र मरियमलाई तिनीहरूका भाइको मृत्युमा सान्त्वना दिन त्यहाँ आएका थिए। 20येशू आउँदैहुनुहुन्छ भन्‍ने सुनेर मार्था उहाँलाई भेट्न गइन्। तर मरियमचाहिँ घरमै बसिरहिन्।

21मार्थाले येशूलाई भनिन्, “प्रभु, तपाईं यहाँ हुनुभएको भए मेरो भाइ मर्नेथिएन। 22हुन त अहिले पनि तपाईंले परमेश्‍वरसँग जस्तोसुकै बिन्ती गर्नुभयो भने पनि उहाँले दिनुहुन्छ भनी म जान्दछु।”

23येशूले तिनलाई भन्‍नुभयो, “तिम्रो भाइ फेरि जीवित हुनेछ।”

24मार्थाले भनिन्, “म जान्दछु, अन्तिम दिनमा मरेकाहरूको पुनरुत्थान हुँदा ऊ पनि जीवित पारिनेछ।”

25येशूले तिनलाई भन्‍नुभयो, “पुनरुत्थान र जीवन म नै हुँ। ममाथि विश्‍वास गर्ने मर्‍यो भने पनि ऊ जीवित हुनेछ। 26जो ममाथि विश्‍वास गरेर बाँच्दछ, ऊ कहिल्यै मर्नेछैन। मार्था के तिमी यो विश्‍वास गर्छ्यौ?”

27“निश्‍चय गर्छु, गुरुज्यू,” तिनले भनिन्, “यस संसारमा आउने परमेश्‍वरको पुत्र, ख्रीष्‍ट तपाईं नै हुनुहुन्छ भनी म विश्‍वास गर्छु।”

28अनि यति भनेर मार्था फर्केर गइन्, र मरियमलाई सुटुक्‍क बोलाएर भनिन्, “गुरुज्यू आउनुभएको छ, र तिमीलाई भेट्न चाहँदैहुनुहुन्छ।” 29यो सुनेर मरियम तुरुन्तै उठेर येशूकहाँ गइन्। 30येशू अझै पनि त्यस गाउँमा पसिसक्नुभएको थिएन। उहाँ मार्थासँग भेट भएको ठाउँमा नै हुनुहुन्थ्यो। 31मरियम झट्टै उठेर गएको देखेपछि तिनलाई सान्त्वना दिन आएका यहूदीहरूले तिनी लाजरसको चिहानमा रुन गएकी हुन् भनी ठानेर तिनीहरू मरियमको पछि लागे।

32जब येशू हुनुभएको ठाउँमा मरियम आइपुगिन्, तब उहाँलाई देखेपछि पाउमा परेर भनिन्, “प्रभु, तपाईं यहाँ हुनुभएको भए मेरो भाइ मर्नेथिएन।”

33मरियम रोइरहेकी र तिनीसँगै आएका अरू यहूदीहरूलाई पनि तिनीसँग रोइरहेका देख्नुभएर येशू आत्मामा दुःखित र अति विचलित हुनुभयो। 34“लाजरसलाई तिमीहरूले कहाँ राखेका छौ?” उहाँले तिनीहरूलाई सोध्नुभयो।

तिनीहरूले उहाँलाई भने, “गुरुज्यू, आएर हेर्नुहोस्।”

35येशू रुनुभयो।

36यो देखेर यहूदीहरूले भने, “हेर, उहाँले तिनलाई कति माया गर्नुहुन्थ्यो!”

37तर कतिले भने, “दृष्‍टिविहीनलाई दृष्‍टि दिने यी मानिसले लाजरसलाई पनि मर्नदेखि बचाउन सक्नेथिएनन् र?”

लाजरस फेरि जीवित भएका

38येशू फेरि ज्यादै दुःखित भएर चिहानमा जानुभयो। यो चिहान एउटा ओडारमा थियो। अनि यसको मुखमा ठूलो ढुङ्गा राखिएको थियो। 39येशूले तिनीहरूलाई भन्‍नुभयो, “ढुङ्गा हटाओ।”

मर्नेकी दिदी मार्थाले भनिन्, “तर प्रभु, यस बेलासम्म त लास पनि गन्हाउन थाल्यो होला। किनकि उनी त्यहाँ रहेको चार दिन भइसक्यो।”

40येशूले भन्‍नुभयो, “विश्‍वास गर्‍यौ भने तिमीले परमेश्‍वरको महिमा देख्नेछौ भनी मैले तिमीलाई भनेको थिइनँ र?”

41त्यसकारण तिनीहरूले ढुङ्गा एकातिर हटाइदिए। त्यसपछि येशूले स्वर्गतिर हेरेर भन्‍नुभयो, “पिता! मेरो बिन्ती सुनिदिनुभएको लागि धन्यवाद। 42तपाईंले मेरो कुरा सधैँ सुन्‍नुहुन्छ भनी मलाई थाहा थियो। तर मलाई तपाईंले नै पठाउनुभएको हो भनी यिनीहरूले विश्‍वास गरून् भनेर यी वरिपरि उभिरहेका मानिसहरूका कारण मैले यसो भनेको हुँ।”

43यो कुरा भन्‍नुभएपछि येशू चर्को सोरले कराउनुभयो, “लाजरस, बाहिर निस्केर आऊ!” 44अनि मरेको लाजरस हात र खुट्टा कात्रोले बेह्रिएकै र अनुहारमा लुगाले छोपिएकै अवस्थामा बाहिर निस्की आयो।

येशूले तिनीहरूलाई भन्‍नुभयो, “कात्रो फुकालिदेओ, र उनलाई जान देओ।”

कदम २: पुन: उही कथालाई बताउनुहोस्।

केही समय लिएर आफ्नै शब्दहरूमा कथा पुन:सुनाउनु होस। तपाईं यसलाई ठूलो स्वरमा बताउन वा यसलाई लेख्न सक्नुहुन्छ। यदि तपाइँ यस खण्डलाई सम्झन संघर्ष गर्दै हुनुहुन्छ भने, पुन: यस खण्डलाई पढ्नुहोस् वा सुन्नुहोस्।

कदम ३: कथा मनन् गर्नुहोस।

जब तपाईंलाई लाग्छ कि तपाईंले कथा राम्रोसँग बुझ्नुभयो, तब तलका प्रश्नहरूलाई सोच्नुहोस र छलफल गर्न केही समय लिनुहोस्।


Get it on Google Play
Download on the App Store

Get Discovery Bible Studies on your phone

Discover copyright ©2015-2025 discoverapp.org

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™. Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. “Biblica” संयुक्त राज्य अमेरिका पेटेन्ट एण्ड ट्रेडमार्क अफिसमा Biblica, Inc. द्वारा दर्ता गरिएको ट्रेडमार्क हो। अनुमतिसहित प्रयोग गरिन्छ।