निम्न लिखित खण्ड पढ्नुहोस् वा सुन्नुहोस् ।
निस्तार र अखमिरी रोटीको चाड
12:1याहवेहले मोशा र हारूनलाई इजिप्टमा भन्नुभयो, 2“यो महिना तिमीहरूका लागि महिनाहरूको सुरु, वर्षको पहिलो महिना हुनेछ। 3इस्राएलका सम्पूर्ण समुदायलाई प्रत्येक मानिसले यो महिनाको दशौँ दिनमा आफ्ना परिवारको लागि प्रत्येक घरानाअनुसार एउटा थुमा लिनुपर्छ भनी भन्। 4कुनै घराना एउटा थुमाको लागि एकदमै सानो छ भने तिनीहरूले मानिसहरूको संख्याको हिसाबले एउटा थुमा आफ्नो नजिकैको छिमेकीसित मिलेर खाऊन्। हरेक मानिसले कति खान सक्छ भन्ने हिसाबले थुमा कति चाहिन्छ भनी तैँले निर्णय गर्नू। 5तैँले रोज्नुपर्ने पशु खोटरहितको एकवर्षे पाठो हुनुपर्छ; अनि तैँले त्यो भेडा अथवा बाख्राबाट लिन सक्नेछस्। 6तिनीहरूलाई तिमीहरूले महिनाको चौधौँ दिनसम्म रेखदेख गर्नू, र इस्राएलको समुदायका सबै मानिसहरूले तिनीहरूलाई साँझपख मारून्। 7तब तिनीहरूले केही रगत लिएर जुन घरमा तिनीहरूले थुमा खान्छन्, त्यसका चौकसका दुई पट्टिका र माथिल्ला भागहरूमा लगाऊन्। 8त्यही रात तिनीहरूले त्यो मासु आगोमा पोलेर तितो सागसित र खमिर नमिसाइएको रोटीसित खाऊन्। 9त्यो मासु काँचो अथवा पानीमा पकाएर नखानू, तर त्यसलाई आगोमा पोल्नू—टाउको, खुट्टाहरू अनि भित्री भागहरू। 10त्यसको केही पनि भाग बिहानसम्म नराख्नू; बिहानसम्म केही रह्यो भने त्यसलाई जलाइदिनू। 11त्यसलाई तिमीहरूले यसरी खानू: तिमीहरूका पटुका कसेर, खुट्टामा जुत्ता लगाएर र तिमीहरूका लहुरो हातमा लिएर त्यसलाई हतार-हतार खानू; यो याहवेहको निस्तार चाड हो।12“त्यही रात म इजिप्टबाट भएर जानेछु अनि मानिसहरू र पशुहरूका प्रत्येक जेठोमाथि प्रहार गर्नेछु, र इजिप्टका सबै देवी-देवताहरूमाथि न्याय ल्याउनेछु; म नै याहवेह हुँ। 13त्यो रगत तिमीहरू बसेका घरहरूमा चिन्ह हुनेछ; अनि जब म रगत देख्नेछु, तब म तिमीहरूलाई छोडेर जानेछु। मैले इजिप्टमाथि प्रहार गर्दा तिमीहरूलाई कुनै पनि नाश गर्ने विपत्तिले छुनेछैन।
14“यस दिनलाई तिमीहरूको स्मरणमा राख्नू; अनि आउने पुस्ताका निम्ति तिमीहरूले यसलाई याहवेहका चाडको हिसाबले मान्नू—यो सदाको निम्ति एउटा धार्मिक विधि हो। 15सात दिनसम्म तिमीहरूले खमिर नमिसाइएको रोटी खानू। पहिलो दिन आफ्ना घरहरूबाट खमिर निकाल्नू; किनकि जसले पहिलो दिनदेखि लिएर सातौँ दिनसम्म खमिर हालेको केही खान्छ, त्यो इस्राएलदेखि बहिष्कृत होस्। 16पहिलो दिन एउटा पवित्र सभा आयोजना गर, र अर्को सभा सातौँ दिनमा गर। प्रत्येकले खानलाई भोजन तयार गर्नुबाहेक यी सबै दिनहरूमा पटक्कै काम नगर्नू; भोजन बनाउने काम मात्र तिमीहरू गर्न सक्छौ।
17“अखमिरी रोटीको चाड मान्नू; किनकि यो त्यही दिन हो, जसमा मैले तिमीहरूका दलहरूलाई इजिप्टबाट ल्याएँ। यस दिनलाई भावी पुस्ताका लागि एउटा सदाको धार्मिक विधिस्वरूप मान्नू। 18पहिलो महिनाको चौधौँ दिनको साँझदेखि एक्काइसौँ दिनको साँझसम्म तिमीहरूले खमिर नमिसाइएको रोटी खानू। 19सात दिनसम्म तिमीहरूका घरहरूमा खमिर पटक्कै नपाइयोस्। अनि जसले खमिर मिसाएर केही कुरा खान्छ, त्यो परदेशी होस् वा स्वदेशमै जन्मेको होस्, त्यसलाई इस्राएलको समुदायबाट बहिष्कार गर्नू। 20खमिर मिसाएर केही कुरा पनि नखानू। तिमीहरू जहाँ बसे तापनि खमिर नमिसाइएको रोटी नै खानू।”
21तब मोशाले इस्राएलका सबै प्रधानहरूलाई बोलाएर तिनीहरूलाई भने, “झट्टै गएर तपाईंहरूका परिवारहरूका निम्ति पशुहरू रोज्नुहोस् र निस्तार चाडको पाठो मार्नुहोस्। 22हिसपको एउटा झुप्पा लिएर भाँडामा भएको रगतमा चोप्नुहोस्, र केही रगत चौकसका माथिल्लो र दुवैतिरका भागमा लगाउनुहोस्। बिहानसम्म आफ्नो घरदेखि कोही पनि बाहिर ननिस्कोस्। 23जब याहवेह इजिप्टियनहरूलाई प्रहार गर्नलाई यस देशबाट भएर जानुहुनेछ, तब उहाँले चौकसका माथिल्ला र दुई छेउका भागहरूमा रगत देख्नुहुनेछ; अनि उहाँले त्यस ढोकालाई नाघेर जानुहुनेछ, र विनाशकर्तालाई नाश गर्न तपाईंहरूका घरमा पस्न दिनुहुनेछैन।
24“यस निर्देशनलाई तपाईंहरू र तपाईंहरूका सन्तानका लागि एउटा सदाको धार्मिक नियमस्वरूप पालन गर्नू। 25जब तपाईंहरू याहवेहले प्रतिज्ञा गर्नुभएको देशमा प्रवेश गर्नुहुनेछ, यस उत्सवलाई मान्नू। 26अनि जब तपाईंहरूका छोराछोरीहरूले तपाईंहरूलाई ‘तपाईंहरूका निम्ति यस उत्सवको अर्थ के हो?’ भनी सोध्छन्, 27तब तपाईंहरूले भन्नू, ‘यो याहवेहको निम्ति निस्तारको बलिदान हो; उहाँले इजिप्टमा इस्राएलीहरूका घरहरूलाई छोड्नुभयो, र इजिप्टियनहरूलाई प्रहार गर्नुहुँदा हाम्रा परिवारहरूलाई जोगाइराख्नुभयो।’ ” तब मानिसहरूले शिर निहुराएर आराधना गरे। 28इस्राएलीहरूले याहवेहले मोशा र हारूनलाई आज्ञा गर्नुभएबमोजिम नै गरे।
केही समय लिएर आफ्नै शब्दहरूमा कथा पुन:सुनाउनु होस। तपाईं यसलाई ठूलो स्वरमा बताउन वा यसलाई लेख्न सक्नुहुन्छ। यदि तपाइँ यस खण्डलाई सम्झन संघर्ष गर्दै हुनुहुन्छ भने, पुन: यस खण्डलाई पढ्नुहोस् वा सुन्नुहोस्।
जब तपाईंलाई लाग्छ कि तपाईंले कथा राम्रोसँग बुझ्नुभयो, तब तलका प्रश्नहरूलाई सोच्नुहोस र छलफल गर्न केही समय लिनुहोस्।
Get Discovery Bible Studies on your phone
Discover copyright ©2015-2025 discoverapp.org
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™. Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. “Biblica” संयुक्त राज्य अमेरिका पेटेन्ट एण्ड ट्रेडमार्क अफिसमा Biblica, Inc. द्वारा दर्ता गरिएको ट्रेडमार्क हो। अनुमतिसहित प्रयोग गरिन्छ।