छुट्कारा:यशैया भविष्यवक्ता द्वारा दुःख भोग्ने सेवकको भविष्यवाणी।
यशैया 53:1-12
कदम १: कथा पढ्नुहोस्।
निम्न लिखित खण्ड पढ्नुहोस् वा सुन्नुहोस् ।
x1.0
53:1कसले हाम्रो समाचारलाई विश्वास गरेको छ?
र याहवेहको बाहुबल कसलाई प्रकट गरिएको छ?
2ऊ उहाँको सामु कलिलो टुसाजस्तो,
र सुक्खा जमिनबाट निस्केको जराजस्तो हुर्कियो।
ऊसँग हामीलाई आकर्षित गर्न कुनै सुन्दरता वा शोभा थिएन;
उसको अनुहारमा हामीलाई मनपर्ने केही कुरा थिएन।
3मानिसहरूबाट ऊ घृणित र तिरस्कृत गरियो,
दुःखित मानिस, जो कष्टसित परिचित थियो।
ऊ त्योजस्तो थियो, जसलाई देखेर
मानिसहरूले आफ्ना अनुहार लुकाउँछन्;
ऊ घृणित थियो, र हामीले उसलाई कुनै मूल्यको ठानेनौँ।
4निश्चय नै उसले हाम्रा दुःखहरू आफूमाथि लियो;
अनि हाम्रा कष्टहरूलाई बोक्यो,
तर हामीले उसलाई परमेश्वरबाट हिर्काइएको,
उहाँद्वारा पिटिएको र यातना दिइएको ठान्यौँ।
5तर ऊ त हाम्रै अधर्महरूका निम्ति छेडियो।
ऊ हाम्रा अपराधहरूका निम्ति कुल्चियो;
हामीमा शान्ति ल्याउने ताडना उसमाथि पर्यो;
अनि उसका चोटहरूले हामी निको भयौँ।
6हामी सबै भेडाहरूझैँ बरालिएका छौँ;
हामी प्रत्येक आ-आफ्नै बाटो लागेका छौँ।
याहवेहले उसैमाथि
हामी सबैका अपराधहरू राखिदिनुभएको छ।
7उसलाई सताइयो र उसलाई कष्ट दिइयो,
तर पनि उसले आफ्नो मुख खोलेन;
उसलाई मारिन लगिएको थुमाझैँ लगियो;
ऊन कत्रनेहरूको सामु भेडा शान्त रहेझैँ,
उसले आफ्नो मुख खोलेन।
8अत्याचार र न्यायद्वारा भएर ऊ लगियो।
अनि उसका सन्तानहरूको विषयमा कसले बोल्न सक्छ?
किनकि ऊ त जीवितहरूको देशबाट अलग गरियो;
र मेरा मानिसहरूका अपराधको कारण ऊ पिटियो।
9उसको चिहान दुष्टहरूसित बनाइयो,
तर मृत्युमा उसले धनी व्यक्तिको चिहान पायो;
किनकि उसले कुनै अत्याचार गरेको थिएन,
न त उसको मुखमा कुनै छल नै थियो।
10तरै पनि याहवेहलाई उसलाई कुल्चिन र कष्ट दिन इच्छा लाग्यो;
याहवेहले उसको जीवनलाई दोषबलि बनाउनुभए तापनि
उसले आफ्नो सन्तान देख्नेछ, र उसका दिनहरू बढाइनेछन्;
अनि उसको हातमा याहवेहको इच्छा पूरा हुनेछ।
11उसको प्राणको कष्टपछि
उसले जीवनको ज्योति देख्नेछ र सन्तुष्ट हुनेछ।
आफ्नो ज्ञानद्वारा मेरो धर्मी सेवकले धेरैलाई धर्मी ठहराउनेछ;
अनि उसले तिनीहरूका अधर्म बोक्नेछ।
12यसकारण म उसलाई महान्हरूसित एउटा भाग दिनेछु;
अनि उसले लुटको माल सामर्थीहरूसित बाँड्नेछ;
किनकि उसले आफ्नो जीवन मृत्युमा खन्याइदिएको छ;
ऊ अधर्मीहरूसित गनियो।
किनकि उसले चाहिँ धेरैको पाप बोक्यो,
र अपराधीहरूका निम्ति बिन्ती गर्यो।
कदम २: पुन: उही कथालाई बताउनुहोस्।
केही समय लिएर आफ्नै शब्दहरूमा कथा पुन:सुनाउनु होस। तपाईं यसलाई ठूलो स्वरमा बताउन वा यसलाई लेख्न सक्नुहुन्छ। यदि तपाइँ यस खण्डलाई सम्झन संघर्ष गर्दै हुनुहुन्छ भने, पुन: यस खण्डलाई पढ्नुहोस् वा सुन्नुहोस्।
कदम ३: कथा मनन् गर्नुहोस।
जब तपाईंलाई लाग्छ कि तपाईंले कथा राम्रोसँग बुझ्नुभयो, तब तलका प्रश्नहरूलाई सोच्नुहोस र छलफल गर्न केही समय लिनुहोस्।
यस कथाले तपाईंलाई परमेश्वरको बारेमा के बताउँछ?
यस कथाले तपाईंलाई मानिसहरूको बारेमा के बताउँछ?
यदि यो साँच्चै परमेश्वरको वचन हो भने, तपाईंले आफ्नो जीवनमा के परिवर्तन गर्नु आवश्यक छ?