निम्न लिखित खण्ड पढ्नुहोस् वा सुन्नुहोस् ।
येशूले भूतआत्मा लागेको मानिसलाई निको पार्नुभएको
5:1उहाँहरू तालको पारिपट्टि गिरासिनीहरूको मुलुकमा जानुभयो। 2जब येशू डुङ्गाबाट बाहिर निस्कनुभयो, तब त्यहाँ अशुद्ध आत्मा लागेको एउटा मानिस चिहानबाट उहाँलाई भेट्न आयो। 3त्यो मानिस चिहानहरूमा बस्थ्यो। कसैले पनि त्यसलाई साङ्लोले पनि बाँधेर राख्न सक्दैनथ्यो। 4किनभने धेरै पल्ट त्यसलाई हातखुट्टामा साङ्लोले बाँधिएको थियो; तर त्यसले साङ्लाहरू चुडाउँथ्यो, र खुट्टाका फलामहरू भाँच्थ्यो। त्यसलाई अधीनमा राख्न सक्ने बल कसैसँग थिएन। 5त्यो दिनरात चिहानहरूमा र पहाडहरूमा रहन्थ्यो; चिच्याउँथ्यो र आफैँलाई ढुङ्गाले काट्ने गर्दथ्यो।6जब त्यसले टाढैबाट येशूलाई देख्यो, तब त्यो दगुरेर उहाँको सामु गई उहाँलाई दण्डवत् गर्यो। 7त्यसले चर्को सोरले कराएर भन्यो, “हे सर्वोच्च परमेश्वरका पुत्र येशू, तपाईं मसित के चाहनुहुन्छ? परमेश्वरको नाममा बिन्ती गर्दछु, मलाई नसताउनुहोस्!” 8किनकि येशूले त्यसलाई भन्नुभएको थियो, “हे अशुद्ध आत्मा, तँ यस मानिसबाट बाहिर निस्केर जा!”
9तब येशूले त्यसलाई सोध्नुभयो, “तेरो नाम के हो?”
त्यसले जवाफ दियो, “मेरो नाम फौज हो; किनकि हामी धेरै छौँ।” 10अनि त्यसले येशूलाई त्यस इलाकादेखि तिनीहरूलाई बाहिर नपठाउन बारम्बार बिन्ती गर्यो।
11त्यहाँ नजिकै, पहाडमा सुँगुरहरूको एउटा ठूलो बगाल चरिरहेको थियो। 12ती भूतआत्माहरूले येशूलाई यसरी बिन्ती गरे, “हामीलाई ती सुँगुरहरूमा पठाउनुहोस्; तिनीहरूभित्र पस्न दिनुहोस्।” 13उहाँले तिनीहरूलाई अनुमति दिनुभयो; अनि अशुद्ध आत्माहरू निस्केर सुँगुरहरूभित्र पसे। करिब दुई हजार सुँगुरको बगाल भिरालो किनारबाट हुरमुरिँदै गएर तालमा खसेर डुबेर मरे।
14ती सुँगुर चराउनेहरू त्यहाँबाट भागे। सहर र गाउँतिर गएर त्यो खबर सुनाइदिए, तब मानिसहरू के भएको थियो, सो हेर्न गए। 15जब तिनीहरू येशूकहाँ आए, तब तिनीहरूले दुष्ट आत्माको फौजले भरिएको त्यस मानिसलाई लुगा पहिरेको र ठिक भएर त्यहाँ बसिरहेको देखे; अनि तिनीहरू डराए। 16जतिले यो देखेका थिए, तिनीहरूले त्यस दुष्ट आत्मा लागेको मानिसलाई के भएको थियो, र सुँगुरहरूको विषयमा पनि मानिसहरूलाई भनिदिए। 17तब मानिसहरूले येशूलाई त्यस क्षेत्रबाट गइहाल्नुहोस् भनेर बिन्ती गरे।
18येशू डुङ्गामा चढ्न लाग्नुहुँदा त्यो दुष्ट आत्माले सताएको मानिस आएर उहाँसँगै जान पाऊँ भनी बिन्ती गर्यो। 19तर येशूले मान्नुभएन, बरु यसो भन्नुभयो, “घरमा जाऊ, र आफ्नो परिवारलाई तिम्रा लागि प्रभुले कति ठूलो काम गर्नुभएको छ र उहाँले तिमीप्रति कति कृपा देखाउनुभयो, त्यो सबैलाई भनिदेऊ।” 20त्यसपछि त्यो मानिस गइहाल्यो र येशूले उसका लागि के गर्नुभयो, त्यो डेकापोलिसमा भन्न थाल्यो; अनि सबै मानिसहरू छक्क परे।
केही समय लिएर आफ्नै शब्दहरूमा कथा पुन:सुनाउनु होस। तपाईं यसलाई ठूलो स्वरमा बताउन वा यसलाई लेख्न सक्नुहुन्छ। यदि तपाइँ यस खण्डलाई सम्झन संघर्ष गर्दै हुनुहुन्छ भने, पुन: यस खण्डलाई पढ्नुहोस् वा सुन्नुहोस्।
जब तपाईंलाई लाग्छ कि तपाईंले कथा राम्रोसँग बुझ्नुभयो, तब तलका प्रश्नहरूलाई सोच्नुहोस र छलफल गर्न केही समय लिनुहोस्।
Get Discovery Bible Studies on your phone
Discover copyright ©2015-2025 discoverapp.org
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™. Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. “Biblica” संयुक्त राज्य अमेरिका पेटेन्ट एण्ड ट्रेडमार्क अफिसमा Biblica, Inc. द्वारा दर्ता गरिएको ट्रेडमार्क हो। अनुमतिसहित प्रयोग गरिन्छ।