निम्न लिखित खण्ड पढ्नुहोस् वा सुन्नुहोस् ।
येशूले पाँच हजारलाई खुवाउनुभएको
6:1यसको केही समयपछि येशू गालील, अर्थात् तिबेरियास तालको पारिपट्टि जानुभयो। 2अनि मानिसहरूको एउटा ठूलो भीडले उहाँलाई पछ्यायो। किनकि उहाँले रोगीहरूलाई निको पार्नुभएको अलौकिक चिन्हहरू तिनीहरूले देखेका थिए। 3त्यसपछि येशू एउटा डाँडामा जानुभयो, र चेलाहरूसँग त्यहाँ बस्नुभयो। 4यहूदीहरूको निस्तार चाड नजिकै थियो।5येशूले आँखा उठाएर हेर्नुभयो र एउटा ठूलो भीड आफूतिर आउँदैगरेको देखेर उहाँले फिलिपलाई भन्नुभयो, “यी मानिसहरूलाई खानका निम्ति हामीले रोटी कहाँबाट किनौँ?” 6उहाँले तिनलाई जाँच्नका लागि मात्र यो कुरा सोध्नुभएको थियो। किनकि उहाँले जे गर्न लाग्नुभएको थियो, त्यो उहाँलाई थाहा थियो।
7फिलिपले उहाँलाई भने, “दुई सय दिनारले प्रत्येकलाई एक-एक गाँस पुग्नेजति रोटी किन्न पनि पर्याप्त हुँदैन!”
8उहाँका चेलाहरूमध्येका अर्का एक जना, सिमोन पत्रुसका भाइ, अन्द्रियासले भने, 9“यहाँ एउटा ठिटोसँग जौका पाँच वटा रोटी र दुई वटा स-साना माछा छन्, तर यति धेरैका निम्ति ती कति पो पुग्ला र?”
10येशूले भन्नुभयो, “मानिसहरूलाई बस्न लगाओ।” त्यस ठाउँमा प्रशस्त घाँसको चउर थियो र मानिसहरू त्यहीँ बसे। त्यहाँ लगभग पाँच हजार पुरुषहरू थिए। 11त्यसपछि येशूले रोटी लिएर धन्यवाद दिनुभयो। र त्यहाँ बसेकाहरूलाई तिनीहरूले चाहेजति बाँडिदिनुभयो। उहाँले माछा पनि त्यसै गरी बाँडिदिनुभयो।
12तिनीहरू सबैले प्रशस्त खाएर अघाएपछि उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “उब्रेका टुक्राहरू बटुल, र केही पनि खेर नजाओस्।” 13तिनीहरूले त्यो बटुले, र पाँच वटा जौका रोटीबाट मानिसहरूले खाएर उबारेका टुक्राहरूले बाह्र डालाहरू भरे।
14येशूले गर्नुभएको अलौकिक चिन्ह देखेपछि मानिसहरूले यसो भन्न लागे, “निश्चय नै संसारमा आउनुहुने अगमवक्ता उहाँ नै हुनुहुन्छ।” 15तिनीहरू आएर उहाँलाई जबरजस्ती राजा बनाउन लैजान खोज्दैछन् भन्ने थाहा पाएर येशू फेरि तिनीहरूबाट अलग हुनुभएर एकलै डाँडातिर जानुभयो।
येशू पानीमाथि हिँड्नुभएको
16साँझ परेपछि उहाँका चेलाहरू तालतिर झरे, 17र त्यहाँबाट डुङ्गामा चढेर तिनीहरू तालपारि कफर्नहुमतिर लागे। त्यस बेलासम्म अँध्यारो भइसकेको थियो। अनि येशू अझै पनि तिनीहरूकहाँ आउनुभएको थिएन। 18त्यस बेला एउटा ठूलो बतास चलिरहेको थियो; र तालमा छाल उर्लिन थाल्यो। 19तिनीहरू डुङ्गा खियाउँदै लगभग पाँच किलोमिटर जति गइसकेका थिए, तब तिनीहरूले येशूलाई पानीमाथि हिँडेर डुङ्गातिर आउँदै गर्नुभएको देखे। यो देखेर तिनीहरू डराए। 20तर उहाँले तिनीहरूलाई भन्नुभयो, “म नै हुँ, नडराओ!” 21तब तिनीहरूले उहाँलाई खुशीसाथ डुङ्गामा चढाए। अनि तुरुन्तै डुङ्गा उहाँहरू जान चाहेको किनारमा पुग्यो।
22भोलिपल्ट तालको अर्को किनारमा रहेका भीडले त्यहाँ एउटा मात्र डुङ्गा रहेको र येशू चेलाहरूसँग त्यो डुङ्गामा नचढ्नुभएको, तर चेलाहरूमात्रै त्यहाँबाट गएका थिए भनी थाहा गरे। 23त्यसपछि तिबेरियास सहरबाट केही डुङ्गाहरू त्यस ठाउँ नजिक आइपुगे, जहाँ अगिल्लो दिन प्रभुले धन्यवाद दिनुभएपछि मानिसहरूले रोटी खाएका थिए। 24त्यहाँ न येशू हुनुहुन्छ, न त उहाँका चेलाहरू नै छन् भन्ने थाहा पाएपछि तिनीहरू डुङ्गामा चढे, र येशूको खोजी गर्दै कफर्नहुममा गए।
येशू जीवनको रोटी
25तिनीहरूले उहाँलाई तालको पारिपट्टि भेट्टाएर सोधे, “गुरुज्यू, तपाईं यहाँ कहिले आउनुभयो?”
26येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, तिमीहरूले अलौकिक चिन्हहरू देखेर होइन, तर तिमीहरूले अघाउन्जेल रोटी खाएका हुनाले मलाई खोजिरहेका छौ। 27नष्ट हुने भोजनका निम्ति परिश्रम नगर। तर अनन्त जीवनसम्म रहिरहने भोजनको निम्ति परिश्रम गर, जुन भोजन तिमीहरूलाई मानिसको पुत्रले दिनेछ। परमेश्वर पिताले उसमाथि आफ्नो स्वीकृतिको छाप लगाउनुभएको छ।”
28तब तिनीहरूले उहाँलाई प्रश्न गरे, “परमेश्वरले चाहनुहुने काम गर्नका लागि हामीले के गर्नुपर्छ?”
29येशूले जवाफ दिनुभयो, “परमेश्वरले चाहनुहुने काम यही हो: उहाँले पठाउनुभएको जनलाई विश्वास गर।”
30यसकारण तिनीहरूले उहाँलाई सोधे, “तपाईंले के अलौकिक चिन्ह दिनुहुन्छ, ताकि हामीले त्यो देखेर तपाईंमाथि विश्वास गरौँ? तपाईं के गर्नुहुन्छ? 31हाम्रा पुर्खाहरूले उजाडस्थानमा मन्न खाए। धर्मशास्त्रमा लेखिएको छ, ‘उहाँले तिनीहरूलाई खानका लागि स्वर्गबाट रोटी दिनुभयो।’”
32येशूले तिनीहरूलाई भन्नुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, जसले तिमीहरूलाई स्वर्गबाट रोटी दिनुभयो, त्यो मोशा होइनन्; तर तिमीहरूलाई स्वर्गबाट साँचो रोटी दिनुहुने मेरा पिता हुनुहुन्छ। 33किनकि परमेश्वरको रोटी त्यही हो, जो स्वर्गबाट तल ओर्लिआउँछ र संसारलाई जीवन दिन्छ।”
34तिनीहरूले भने, “हजुर, अबदेखि हामीलाई यही रोटी दिनुहोस्।”
35तब येशूले घोषणा गर्नुभयो, “जीवनको रोटी म नै हुँ। जो मकहाँ आउँछ, त्यो कहिल्यै भोकाउनेछैन; र जसले ममाथि विश्वास गर्छ, त्यो कहिल्यै तिर्खाउनेछैन। 36तर मैले तिमीहरूलाई अगि भनेझैँ, तिमीहरूले मलाई देखेका छौ, तर पनि मलाई विश्वास गर्दैनौ। 37पिताले मलाई दिनुहुनेहरू सबै मकहाँ आउनेछन्। मकहाँ आउने कसैलाई पनि म कहिल्यै त्याग्नेछैनँ।
केही समय लिएर आफ्नै शब्दहरूमा कथा पुन:सुनाउनु होस। तपाईं यसलाई ठूलो स्वरमा बताउन वा यसलाई लेख्न सक्नुहुन्छ। यदि तपाइँ यस खण्डलाई सम्झन संघर्ष गर्दै हुनुहुन्छ भने, पुन: यस खण्डलाई पढ्नुहोस् वा सुन्नुहोस्।
जब तपाईंलाई लाग्छ कि तपाईंले कथा राम्रोसँग बुझ्नुभयो, तब तलका प्रश्नहरूलाई सोच्नुहोस र छलफल गर्न केही समय लिनुहोस्।
Get Discovery Bible Studies on your phone
Discover copyright ©2015-2025 discoverapp.org
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™. Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. “Biblica” संयुक्त राज्य अमेरिका पेटेन्ट एण्ड ट्रेडमार्क अफिसमा Biblica, Inc. द्वारा दर्ता गरिएको ट्रेडमार्क हो। अनुमतिसहित प्रयोग गरिन्छ।