
निम्न लिखित खण्ड पढ्नुहोस् वा सुन्नुहोस् ।
असल सामरीको दृष्टान्त
10:25एक समयमा एक जना व्यवस्थाका विशेषज्ञले येशूको परीक्षा गर्न उठे, र उहाँलाई प्रश्न गरे, “गुरुज्यू, अनन्त जीवन प्राप्त गर्न मैले के गर्नुपर्छ?”26उहाँले भन्नुभयो, “व्यवस्थामा के लेखिएको छ? त्यसलाई तिमी कसरी पढ्छौ?”
27तब तिनले जवाफ दिए: “ ‘परमप्रभु तिमीहरूका परमेश्वरलाई तिमीहरूका सम्पूर्ण हृदयले, सम्पूर्ण प्राणले, सम्पूर्ण बलले र सम्पूर्ण मनले प्रेम गर,’ र ‘आफ्नो छिमेकीलाई आफैँलाई झैँ प्रेम गर।’”
28येशूले जवाफ दिनुभयो, “तिमीले ठिक जवाफ दियौ। त्यसै गर, र तिमी बाँच्नेछौ।”
29तर तिनले आफूलाई धर्मी ठहराउने इच्छा गरेर येशूलाई सोधे, “त्यसो भए मेरो छिमेकी को हो त?”
30जवाफमा येशूले भन्नुभयो: “एक जना मानिस यरूशलेमबाट यरीहोतिर ओर्लंदैथियो। त्यो डाँकुहरूको फेला पर्यो। तिनीहरूले त्यसलाई नाङ्गै पारे, पिटे र अधमरो बनाएर छोडेर गए। 31संयोगवश एउटा पुजारी त्यही बाटो भएर आयो, र त्यस अधमरो मान्छेलाई देखेर त्यो अर्कोपट्टि तर्केर गयो। 32त्यसै गरी एउटा लेवी पनि त्यस ठाउँमा आइपुग्यो, र त्यसलाई देखेपछि अर्कोपट्टि तर्केर गयो। 33तर एक जना सामरी यात्रा गर्दागर्दै त्यो मानिस भएको ठाउँमा आइपुग्यो। त्यसलाई देखेर त्यस सामरीको मन दयाले भरियो। 34अनि त्यो सामरी त्यसकहाँ गएर त्यसको घाउमा तेल र दाखमद्य लगाएर पट्टी बाँधिदियो। त्यसपछि उसले त्यस मानिसलाई आफ्नै गधामा चढाएर पौवामा लग्यो र त्यसको हेरचाह गर्यो। 35भोलिपल्ट उसले चाँदीका दुई वटा सिक्का निकालेर पौवाका मालिकलाई दिँदै भन्यो, ‘यिनको हेरचाह गरिदेऊ। अरू बढी खर्च लागेछ भने म फर्केर आउँदा तिमीलाई तिरिदिनेछु।’
36“अब तिम्रो विचारमा यी तीन जनामध्ये कुनचाहिँ त्यो डाँकुहरूका हातमा पर्ने मानिसको छिमेकी ठहरियो?”
37व्यवस्थाका ती विद्वान्ले जवाफ दिए, “त्यही मानिस, जसले त्यस मानिसमाथि दया देखायो।”
येशूले तिनलाई भन्नुभयो, “जाऊ, र तिमी पनि त्यस्तै गर।”
हराएको छोराको दृष्टान्त
15:11येशूले बोल्ने क्रम जारी राख्नुभयो: “कुनै मानिसका दुई छोराहरू थिए। 12कान्छोले आफ्ना बुबालाई भन्यो, ‘बुबा, मेरो भागमा पर्ने अंश मलाई दिनुहोस्।’ तब तिनले आफ्नो सम्पत्ति तिनीहरूलाई बाँडिदिए।13“धेरै दिन नबित्दै कान्छो छोरा आफूसँग भएको सबै धनसम्पत्ति बटुलेर टाढा देशमा गयो। त्यहाँ त्यसले आफ्नो सम्पत्ति भोग-विलासमा उडायो। 14त्यसले सबै खर्च गरिसकेपछि त्यस देशभरि ठूलो अनिकाल पर्यो, र त्यसलाई अभाव हुन थाल्यो। 15यसकारण त्यो गएर त्यस देशका एक जना नागरिककहाँ काम माग्यो। त्यस मानिसले उसलाई सुँगुरहरू चराउन आफ्नो खेतमा पठायो। 16त्यसले सुँगुरहरूले खाने चारोहरूले आफ्नो पेट भर्न चाहन्थ्यो, तर कसैले पनि त्यसलाई केही दिँदैनथ्यो।
17“त्यसको आफ्नो चेत खुलेपछि त्यसले भन्यो, ‘मेरा बुबाका कति धेरै ज्यालादारी सेवकहरूले पेटभरि खाएर उबार्छन् पनि, तर म यहाँ भोकले मर्दैछु! 18अब म मेरा बुबाकहाँ फर्केर जानेछु, र उहाँलाई भन्नेछु: बुबा, मैले स्वर्गको विरुद्धमा र तपाईंको विरुद्धमा पाप गरेको छु। 19म अब तपाईंको छोरा भनिने योग्यको छैनँ; मलाई तपाईंका ज्यालादारी सेवकहरूमध्ये एउटासरह बनाउनुहोस्!’ 20अनि त्यो उठेर आफ्नो बुबाकहाँ गयो।
“तर ऊ धेरै टाढामै थियो, तब त्यसका बुबाले त्यसलाई आइरहेको देखेर तिनी त्यसप्रति दयाले भरिए; तब तिनी आफ्नो छोराकहाँ दगुर्दै गई त्यसलाई अँगालो हालेर चुम्बन गरे।
21“तब छोराले बुबालाई भन्यो, ‘बुबा, मैले स्वर्गको विरुद्धमा र तपाईंको विरुद्धमा पाप गरेको छु। म अब तपाईंको छोरा भनिने योग्यको छैनँ।’
22“तर बुबाले आफ्ना सेवकहरूलाई भने, ‘छिटो गर! सबैभन्दा असल लुगा ल्याएर यसलाई पहिराइदेओ। यसको हातमा औँठी र खुट्टामा जुत्ता लगाइदेओ। 23पोसिराखेको मोटो पशु ल्याएर मार। हामी भोज गरौँ, र आनन्द मनाऔँ। 24किनकि मेरो यो छोरो मरेको थियो, अब फेरि जीवित भएको छ; यो हराएको थियो, र भेट्टाइएको छ।’ अनि तिनीहरूले आनन्द मनाउन थाले।
25“त्यस बेला तिनको जेठो छोरो खेतबारीमा थियो। ऊ घरको नजिकै आइपुग्दा उसले बाजा र नाचगानको आवाज सुन्यो। 26त्यसकारण उसले एउटा सेवकलाई बोलाएर ‘के हुँदैछ’ भनी सोध्यो। 27त्यसले जवाफ दियो, ‘तपाईंको भाइ आउनुभएको छ। अनि तपाईंका बुबाले पालिराखेको मोटो पशु मार्नुभएको छ। किनकि उहाँले तिनलाई सुरक्षित र सकुशल नै पाउनुभएको छ।’
28“तब जेठो दाजु रिसाएर भित्र जान मानेन। त्यसकारण त्यसको बुबा बाहिर गएर त्यसलाई फकाउन थाले। 29तर त्यसले आफ्नो बुबालाई जवाफ दियो, ‘हेर्नुहोस्! यतिका वर्षसम्म मैले तपाईंको सेवा गरिरहेको छु। अनि तपाईंका आज्ञा कहिल्यै उल्लङ्घन गरिनँ; तापनि मैले मेरा साथीहरूसँग आनन्द मनाउन तपाईंले मलाई एउटा पाठोधरि कहिल्यै दिनुभएन। 30तर जब तपाईंको सम्पत्ति वेश्याहरूसँग उडाउने तपाईंको यो छोरा घर आयो, तब तपाईंले त्यसका निम्ति पोसाइराखेको मोटो पशु नै मार्नुभयो।’
31“बुबाले भने, ‘मेरो छोरा, तँ त सधैँ मसँगै छस्। मसँग भएका सबै थोक तेरै हो। 32तर हामीले आनन्द मनाएर खुशी हुनुपर्छ; किनकि तेरो यो भाइ मरेको थियो, र फेरि जीवित भएको छ; यो हराएको थियो, र भेट्टाइएको छ।’ ”
केही समय लिएर आफ्नै शब्दहरूमा कथा पुन:सुनाउनु होस। तपाईं यसलाई ठूलो स्वरमा बताउन वा यसलाई लेख्न सक्नुहुन्छ। यदि तपाइँ यस खण्डलाई सम्झन संघर्ष गर्दै हुनुहुन्छ भने, पुन: यस खण्डलाई पढ्नुहोस् वा सुन्नुहोस्।
जब तपाईंलाई लाग्छ कि तपाईंले कथा राम्रोसँग बुझ्नुभयो, तब तलका प्रश्नहरूलाई सोच्नुहोस र छलफल गर्न केही समय लिनुहोस्।
Get Discovery Bible Studies on your phone
Discover copyright ©2015-2025 discoverapp.org
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™. Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. “Biblica” संयुक्त राज्य अमेरिका पेटेन्ट एण्ड ट्रेडमार्क अफिसमा Biblica, Inc. द्वारा दर्ता गरिएको ट्रेडमार्क हो। अनुमतिसहित प्रयोग गरिन्छ।