निम्न लिखित खण्ड पढ्नुहोस् वा सुन्नुहोस् ।
सामरी स्त्रीसँग येशूको कुराकानी
4:1यूहन्नाले भन्दा येशूले धेरै चेलाहरू बनाउँदैहुनुहुन्छ र धेरैलाई बप्तिस्मा दिँदैहुनुहुन्छ भनी फरिसीहरूले सुने। 2हुन त येशू आफूले होइन, तर चेलाहरूले बप्तिस्मा दिन्थे। 3प्रभुले यो थाहा पाउनुभएपछि उहाँ यहूदिया प्रदेश छोडेर फेरि एक पल्ट गालील प्रदेश फर्कनुभयो।4उहाँलाई सामरियाबाट भएर जानुपर्यो। 5त्यसकारण उहाँ सामरियाको सुखार भन्ने सहर नजिकै आइपुग्नुभयो, जुन याकोबले आफ्नो छोरा योसेफलाई दिएको जमिन थियो। 6त्यहाँ याकोबको इनार थियो। अनि येशू यात्राबाट आउनुभएको कारण थाक्नुभएको हुनाले इनारको छेउमा बस्नुभयो। त्यस बेला प्रायः मध्यान्ह भएको थियो।
7जब एउटी सामरी स्त्री पानी भर्न त्यहाँ आई, तब येशूले त्यसलाई भन्नुभयो, “मलाई पानी पिउन दिन्छ्यौ कि?” 8(उहाँका चेलाहरू खानेकुरा किन्न सहरमा गएका थिए।)
9त्यस सामरी स्त्रीले उहाँलाई भनी, “तपाईं यहूदी हुनुहुन्छ, र म एक सामरी स्त्री हुँ। तपाईंले कसरी मेरो हातबाट पानी पिउनुहुन्छ?” (किनकि यहूदीहरूले सामरीहरूसँग केही सम्बन्ध राख्दैनन्।)
10येशूले त्यसलाई भन्नुभयो, “यदि तिमीले परमेश्वरका वरदानलाई र तिमीसँग पानी माग्ने व्यक्ति को हुन् भनी चिनेकी भए, तिमीले उनीसँग पो माग्ने थियौ, र उनले तिमीलाई जीवित पानी दिनेथिए।”
11त्यस स्त्रीले भनी, “हजुर, तपाईंसँग त पानी उघाउने भाँडो केही पनि छैन। अनि इनार गहिरो छ; तब तपाईंले त्यो जीवित पानी कहाँबाट ल्याउनुहुन्छ? 12के तपाईं हाम्रा पुर्खा याकोबभन्दा महान् हुनुहुन्छ, जसले हामीलाई यो इनार दिए, र उनी आफैँले पनि यसै इनारबाट पिए। उनका सन्तान र उनका गाईबस्तुले पनि यही इनारको पानी पिए?”
13येशूले जवाफ दिनुभयो, “यो पानी पिउने हरेक फेरि तिर्खाउनेछ। 14तर जसले मैले दिने पानी पिउँछ, त्यो कहिल्यै तिर्खाउनेछैन। वास्तवमा जुन पानी म त्यसलाई दिन्छु, त्यो त्यसमा अनन्त जीवनको निम्ति उम्रिरहने पानीको मुहान बन्नेछ।”
15त्यस स्त्रीले उहाँलाई भनी, “हजुर, मलाई त्यही पानी दिनुहोस्, र म नतिर्खाऊँ। अनि यहाँ पानी लिन आइरहन नपरोस्।”
16उहाँले त्यसलाई भन्नुभयो, “जाऊ तिम्रो पतिलाई बोलाएर ल्याऊ।”
17त्यसले जवाफ दिई, “मेरो पति छैन।”
येशूले त्यसलाई भन्नुभयो, “तिम्रो पति छैन भनेर तिमीले ठिकै भन्यौ। 18वास्तवमा तिम्रा पाँच जना पतिहरू भइसकेका छन्। अनि अहिले तिमीसँग भएको मानिस पनि तिम्रो पति होइन। तिमीले अहिले जे भन्यौ, त्यो साँचो हो।”
19त्यस स्त्रीले भनी, “हजुर, तपाईं एक अगमवक्ता हुनुपर्छ। 20हाम्रा पितापुर्खाहरूले यस डाँडामा आराधना गरे, तर तपाईं यहूदीहरूले भने हामीले आराधना गर्नुपर्ने स्थान त यरूशलेममा छ भनी दाबी गर्नुहुन्छ।”
21येशूले भन्नुभयो, “ए नारी, मलाई विश्वास गर। त्यो समय आउँदैछ, जब तिमीहरूले पितालाई न त यस डाँडामा आराधना गर्नेछौ, न त यरूशलेममा नै गर्नेछौ। 22तिमी सामरीहरूले जे आराधना गर्दछौ, सो जान्दैनौ; हामीले जे आराधना गर्दछौँ, सो जान्दछौँ। किनकि मुक्ति यहूदीहरूद्वारा नै आउँछ। 23तर बेला आइरहेको छ, र त्यो बेला अहिले नै हो। साँचो आराधकहरूले पितालाई आत्मा र सत्यतामा आराधना गर्नेछन्। किनकि पिताले यस्तै आराधकहरूलाई खोज्नुहुन्छ। 24परमेश्वर आत्मा हुनुहुन्छ। त्यसकारण उहाँका आराधकहरूले आत्मा र सत्यतामा नै आराधना गर्नुपर्छ।”
25त्यस स्त्रीले भनी, “मचाहिँ मसीह (जसलाई ख्रीष्ट भनिन्छ) आउनुहुन्छ भनेर जान्दछु। उहाँ आएपछि उहाँले हामीलाई सबै कुराहरू स्पष्ट गरिदिनुहुनेछ।”
26तब येशूले भन्नुभयो, “तिमीसँग बोल्ने, त्यो म नै हुँ।”
धेरै सामरीहरूको विश्वास
4:39“मैले गरेका सबै कामहरू उहाँले मलाई भनिदिनुभयो” भन्ने त्यस स्त्रीको गवाहीका कारण त्यस सहरका धेरै सामरीहरूले उहाँमाथि विश्वास गरे। 40यसकारण सामरीहरू उहाँकहाँ आए। अनि तिनीहरूले उहाँलाई तिनीहरूसँग बस्न अनुरोध गरे। तब उहाँ दुई दिनसम्म त्यहाँ बस्नुभयो। 41अनि उहाँको वचनको कारण अरू धेरै जनाले विश्वास गरे।42तिनीहरूले त्यस स्त्रीलाई भने, “तिमीले जे भन्यौ केवल त्यसको कारणले मात्र हामीले विश्वास गरेका होइनौँ। तर अब त हामी आफैँले सुनेका छौँ, र हामी यो जान्दछौँ, कि उहाँ साँच्चै नै संसारका मुक्तिदाता हुनुहुन्छ।”
केही समय लिएर आफ्नै शब्दहरूमा कथा पुन:सुनाउनु होस। तपाईं यसलाई ठूलो स्वरमा बताउन वा यसलाई लेख्न सक्नुहुन्छ। यदि तपाइँ यस खण्डलाई सम्झन संघर्ष गर्दै हुनुहुन्छ भने, पुन: यस खण्डलाई पढ्नुहोस् वा सुन्नुहोस्।
जब तपाईंलाई लाग्छ कि तपाईंले कथा राम्रोसँग बुझ्नुभयो, तब तलका प्रश्नहरूलाई सोच्नुहोस र छलफल गर्न केही समय लिनुहोस्।
Get Discovery Bible Studies on your phone
Discover copyright ©2015-2025 discoverapp.org
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™. Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. “Biblica” संयुक्त राज्य अमेरिका पेटेन्ट एण्ड ट्रेडमार्क अफिसमा Biblica, Inc. द्वारा दर्ता गरिएको ट्रेडमार्क हो। अनुमतिसहित प्रयोग गरिन्छ।