खोजमुलक

अध्ययन ४

मानिसको पतन:नोहको जलप्रलय

उत्पत्ति 6:1-9:17

कदम १: कथा पढ्नुहोस्।

निम्न लिखित खण्ड पढ्नुहोस् वा सुन्नुहोस् ।

x1.0

संसारमा दुष्‍टता

6:1जब पृथ्वीमा मानिसहरूको संख्या बढ्न थाल्यो र तिनीहरूका छोरीहरू जन्मिए; 2तब परमेश्‍वरका छोराहरूले मानिसका छोरीहरूलाई राम्री देखे; र तिनीहरूले आ-आफूले चुनेकाहरूसित विवाह गरे। 3तब याहवेहले भन्‍नुभयो, “मेरो आत्माले सदाको निम्ति मानिससित विवाद गर्नेछैन; किनकि तिनीहरू मरणशील हुन्; त्यसको आयु एक सय बीस वर्ष हुनेछ।”

4ती दिनहरूमा पृथ्वीमा नेफिलीमहरू थिए; र त्यसपछि पनि, जब परमेश्‍वरका छोराहरू मानिसहरूका छोरीहरूकहाँ गए; अनि तिनीहरूबाट छोराछोरीहरू जन्मिए। तिनीहरू पुरानो समयका बलिया-बलिया र नाम चलेका पुरुषहरू थिए।

5याहवेहले पृथ्वीमा मानिसहरूको दुष्‍टता ज्यादा बढेको, र तिनीहरूको हृदयको विचार हरबखत दुष्‍टतातिर मात्रै ढल्केको देख्नुभयो। 6पृथ्वीमा मानिसलाई बनाउनुभएकोमा याहवेहले अफसोस गर्नुभयो; र उहाँको हृदय असाध्यै दुःखित भयो। 7यसकारण याहवेहले भन्‍नुभयो, “मैले सृष्‍टि गरेको मानिस जातिलाई—अनि तिनीहरूसँगै जनावरहरू, र आकाशका चराहरू र जमिनमा घस्रने प्राणीहरू, सबैलाई पृथ्वीबाट म नामनिशानै मेटिदिनेछु—किनकि तिनीहरूलाई बनाएकोमा मलाई अफसोस लागेको छ।” 8तर नोआले चाहिँ याहवेहको दृष्‍टिमा अनुग्रह प्राप्‍त गरेका थिए।

नोआ र जलप्रलय

9नोआ र उनको परिवारको विवरण यही हो:


नोआ एक धर्मी मानिस थिए। आफ्नो पुस्ताका मानिसहरूको बीचमा तिनी निर्दोष मानिस थिए। तिनी विश्‍वासयोग्ताका साथ परमेश्‍वरसँग रहन्थे। 10नोआका तीन छोराहरू थिए: शेम, हाम र येपेत।

11परमेश्‍वरको दृष्‍टिमा पृथ्वी भ्रष्‍ट भएको, र हिंसाले भरिएको थियो। 12परमेश्‍वरले पृथ्वी अति भ्रष्‍ट भएको देख्नुभयो; किनकि पृथ्वीका सबै मानिसहरू आफ्ना चालहरूमा भ्रष्‍ट भएका थिए। 13यसकारण परमेश्‍वरले नोआलाई भन्‍नुभयो, “म सबै मानिसहरूको अन्त्य गर्दैछु; किनकि तिनीहरूको कारण पृथ्वी हिंसाले भरिएको छ। म निश्‍चय नै तिनीहरू र पृथ्वीलाई नष्‍ट गर्दैछु। 14यसकारण तैँले आफ्नो निम्ति गोपेर काठको एउटा जहाज बनाउनू; अनि त्यसमा कोठाहरू बनाएर त्यसलाई भित्र र बाहिर अलकत्रले लिप्नू। 15तैँले त्यसलाई यसरी बनाउनू—त्यो जहाज तीन सय क्यूबिट लामो, पचास क्यूबिट चौडा र तीस क्यूबिट अल्गो होस्। 16त्यसको छानो बनाउनू र छानामुनि वरिपरि एक क्यूबिट खुल्‍ला छोड्नु। जहाजको एक छेउमा एउटा ढोका राख्नू र, तल्‍लो, बीचको र माथिल्‍लो तला भएको बनाउनू। 17म आकाशमुनि भएका सम्पूर्ण प्राणीहरू, जीवनको सास हुने प्रत्येक प्राणीलाई नाश गर्नका निम्ति पृथ्वीमा जलप्रलय ल्याउनेछु। पृथ्वीमा भएको प्रत्येक चीज नष्‍ट हुनेछ। 18तर तँसितचाहिँ म मेरो करार स्थापित गर्नेछु; अनि तँ जहाजभित्र पस्‍नेछस्—तँ र तेरा छोराहरू, तेरी पत्नी र तेरा बुहारीहरू पनि। 19तँसित जीवित रहनलाई आफूसितै भाले र पोथी गरेर सबै जीवित प्राणीहरूका एक-एक जोडीलाई जहाजभित्र लैजानू। 20हरेक प्रकारका चराचुरुङ्गी, हरेक प्रकारका जनावर, र जमिनमा चलहल गर्ने हरेक प्रकारको प्राणीको एक-एक जोडी गरी तँसित जीवित रहनलाई आउनेछन्। 21तैँले आफ्ना निम्ति र तिनीहरूका निम्ति हरेक प्रकारका खानेकुरा लैजा, र जम्मा पारिराख्।”

22नोआले परमेश्‍वरले तिनलाई आज्ञा गर्नुभएअनुसार सबै गरे, हो, उनले त्यो गरे।

7:1तब याहवेहले नोआलाई भन्‍नुभयो, “तँ र तेरा सम्पूर्ण परिवार जहाजभित्र जा; किनकि मैले तँलाई यस पुस्तामा धर्मी पाएको छु। 2तँसित हरेक प्रकारका शुद्ध पशुबाट भाले र पोथी गरेर सात जोडी, अशुद्ध पशुबाट भाले र पोथी गरेर एक जोडी लिनू; 3अनि हरेक प्रकारका चराचुरुङ्गीबाट सात जोडी भाले र पोथी गरी लिनू, ताकि तिनीहरूका विभिन्‍न जातिहरू पृथ्वीभरि जीवित रहून्। 4अबको सात दिनमा म पृथ्वीमा चालीस दिन र चालीस रात पानी बर्साउनेछु; अनि म पृथ्वीबाट मैले बनाएको प्रत्येक जीवित प्राणीको नामनिशानै मेटिदिनेछु।”

5अनि नोआले याहवेहले तिनलाई आज्ञा गर्नुभएअनुसार सबै गरे।

6पृथ्वीमा जलप्रलय हुँदा नोआ छ सय वर्षका थिए। 7अनि जलप्रलयको पानीबाट बाँच्नका निम्ति नोआ अनि तिनका छोराहरू, तिनकी पत्नी र तिनका बुहारीहरू जहाजभित्र पसे। 8साथमा शुद्ध र अशुद्ध पशुहरू, चराचुरुङ्गी अनि जमिनमा चलहल गर्ने सबै प्राणीहरूका जोडीहरू, 9अर्थात् भाले र पोथी गरी परमेश्‍वरले आज्ञा गर्नुभएझैँ नोआसँगै जहाजभित्र पसे। 10अनि सात दिनपछि पृथ्वीमा जलप्रलय भयो।

11नोआको जीवनको छ सय वर्षको दोस्रो महिनाको सत्रौँ दिनमा पृथ्वीका सबै गहिरा मूलहरू फुटे, र आकाशका पानीका बाँधहरू खोलिए। 12अनि पृथ्वीमा चालीस दिन र चालीस रात पानी परिरह्‍यो।

13त्यसै दिन नोआ र तिनका छोराहरू शेम, हाम अनि येपेत, तिनकी पत्नी र तिनका तीन बुहारीहरू जहाजभित्र पसे। 14तिनीहरूसित आ-आफ्नै प्रकारका प्रत्येक जङ्गली जनावर, आ-आफ्नै प्रकारका सबै घरपालुवा पशु, आ-आफ्नै प्रकारका जमिनमा घस्रने प्राणी र पखेटा भएका आ-आफ्नै प्रकारका पक्षी थिए। 15जीवनको सास हुने सबै प्राणीहरूका जोडी-जोडी गरी नोआकहाँ जहाजमा आए। 16भित्र पसेका प्राणीहरूमध्ये परमेश्‍वरले नोआलाई आज्ञा गर्नुभएअनुसार प्रत्येक जीवित प्राणीका भाले र पोथी थिए। तिनीहरू भित्र पसेपछि याहवेहले ढोका थुनिदिनुभयो।

17चालीस दिनसम्म पृथ्वीमा जलप्रलय भइरह्‍यो; अनि जब पानी बढ्दैगयो, तब त्यसले जहाजलाई पृथ्वीमाथि उचाल्दै लग्यो। 18पानी बढ्दै गएर पृथ्वी भरिन थाल्यो, र जहाजचाहिँ पानीको सतहमाथि तैरिन थाल्यो। 19पृथ्वीमा पानी झन्-झन् बढ्दैगयो, र आकाशमुनि भएका सबै अग्ला-अग्ला पर्वतहरू डुबे। 20पानी बढेर पर्वतहरूभन्दा 15 क्यूबिट माथिसम्म पुग्यो। 21पृथ्वीमा चलहल गर्ने प्रत्येक जीवित प्राणी—चराचुरुङ्गी, घरपालुवा पशु, जङ्गली जनावर, पृथ्वीमा हुल बाँधेर हिँड्ने हरेक प्रकारका जीवजन्तुहरू र सारा मानिस जातिहरू नष्‍ट भए। 22ओबानो भूमिमा भएका नाकमा जीवनको सास हुनेहरू सबै थोक नष्‍ट भए। 23पृथ्वीमा भएका प्रत्येक जीवित प्राणी; हरेक मानिस, पशु, जमिनमा चलहल गर्ने प्राणी र आकाशका चराहरू सबैको पृथ्वीबाट नामनिशानै मेटियो। नोआ र तिनीसित जहाजभित्र भएकाहरू मात्र जीवित रहे।

24पृथ्वीमाथि पानी एक सय पचास दिनसम्म जलमग्न भइरह्‍यो।

8:1तर परमेश्‍वरले नोआ, तिनीसित जहाजभित्र भएका सबै जङ्गली जनावर र घरपालुवा जनावरहरूलाई सम्झनुभयो; त्यसपछि उहाँले पृथ्वीमाथि बतास चलाउनुभयो, र पानी घट्न थाल्यो। 2अब गहिरा मूलहरू र आकाशका पानीका बाँधहरू बन्द भएका थिए, र आकाशबाट पानी पर्न रोकिएको थियो। 3पृथ्वीबाट पानी लगातार घट्दै जान थाल्यो। एक सय पचासौँ दिनपछि पानी कम भयो। 4त्यसपछि सातौँ महिनाको सत्रौँ दिनमा जहाज अरारात पर्वतमा अडियो। 5पानी दशौँ महिनासम्म लगातार घट्दै गयो; अनि दशौँ महिनाको पहिलो दिनमा पर्वतका टाकुराहरू देखिन थाले।

6चालीस दिनपछि नोआले आफूले जहाजमा बनाएको झ्याल खोले; 7अनि एउटा कागलाई बाहिर पठाए; त्यो पृथ्वीबाट पानी नसुकेसम्म यताउता उडिरह्‍यो। 8त्यसपछि तिनले पृथ्वीको सतहमा पानी घट्यो कि घटेन भनेर बुझ्न एउटा ढुकुरलाई बाहिर पठाए। 9तर पृथ्वीको सतहमा पानी भएकोले त्यस ढुकुरले आफ्नो खुट्टा जमिनमा राख्ने ठाउँ नपाएर तिनीकहाँ जहाजमा नै फर्किआयो। नोआले आफ्नो हात बढाएर ढुकुरलाई पक्रेर जहाजमा आफूकहाँ ल्याए। 10तिनले अरू सात दिन पर्खे; अनि त्यस ढुकुरलाई फेरि जहाजबाट बाहिर पठाए। 11बेलुका जब त्यो ढुकुर तिनी भएको ठाउँमा फर्किआयो; त्यसको चुच्‍चोमा भर्खरै टिपेको भद्राक्षको पात थियो! तब पृथ्वीबाट पानी घटेर गएछ भनी नोआले थाहा पाए। 12तिनले अझै अर्को सात दिन पर्खेर ढुकुरलाई फेरि बाहिर पठाए; तर यस पटक त्यो तिनीकहाँ फर्केर आएन।

13नोआको जीवनको छ सय एक वर्षको पहिलो महिनाको पहिलो दिनसम्ममा पृथ्वीबाट पानी सुकिसकेको थियो। तब नोआले जहाजको छाना उघारे, र पृथ्वीको सतह ओबानो भएको देखे। 14दोस्रो महिनाको सत्ताइसौँ दिनसम्ममा पृथ्वी पूरै ओबानो भएको थियो।

15तब परमेश्‍वरले नोआलाई भन्‍नुभयो, 16“तँ र तेरी पत्नी, र तेरा छोराहरू र तिनीहरूका पत्नीहरूलाई लिएर जहाजबाट निस्की। 17तँसित भएका हरेक प्रकारका जीवित प्राणी, पक्षी, जनावर र जमिनमा चलहल गर्ने सबै प्राणीहरूलाई बाहिर निकाल् ताकि तिनीहरू पृथ्वीमा फैलिँदै फल्दै-फुल्दै र संख्यामा वृद्धि हुँदै जाऊन्।”

18यसकारण नोआ, तिनको साथमा छोराहरू, तिनकी पत्नी र बुहारीहरूसित बाहिर निस्केर आए। 19जमिनमा घस्रने सबै जनावर, सबै प्राणीहरू र सबै उड्ने पक्षी—पृथ्वीमा हलचल गर्ने सबै जीवहरू तिनीहरूका जोडीअनुसार एकपछि अर्को गर्दै जहाजबाट बाहिर निस्के।

20तब नोआले याहवेहको निम्ति एउटा वेदी बनाए, र शुद्ध पशुहरूबाट र शुद्ध पक्षीहरूबाट केही लिएर त्यस वेदीमाथि होमबलि चढाए। 21याहवेहले त्यो मिठो बास्‍ना लिनुभयो; अनि आफ्नो मनमनै भन्‍नुभयो: “बाल्यवस्थादेखि नै मानिसको हृदय दुष्‍टतातिर ढल्केको भए तापनि मानिसको कारणले गर्दा म धर्तीलाई अब फेरि कहिल्यै श्राप दिनेछैनँ। अनि जसरी अहिले मैले गरेको छु, अब फेरि सबै जीवित प्राणीलाई म कहिल्यै नाश गर्नेछैनँ।

  22“पृथ्वी रहेसम्म,
  बिउ छर्ने र कटनीको समय,
  जाडो र गर्मी,
  ग्रीष्म ऋतु र शिशिर ऋतु,
  दिन र रातको
  अन्त्य कहिल्यै हुनेछैन।”

नोआसँग परमेश्‍वरको करार

9:1तब परमेश्‍वरले यसो भन्दै नोआ र तिनका छोराहरूलाई आशिष् दिनुभयो, “फल्दै-फुल्दै, संख्यामा वृद्धि हुँदै र पृथ्वीमा भरिँदै जाओ। 2पृथ्वीका सबै पशुहरू र आकाशका सबै चराचुरुङ्गीहरू, जमिनमा चलहल गर्ने प्रत्येक प्राणी, र समुद्रका सबै माछाहरूमाथि तिमीहरूको भय र त्रास रहनेछ; तिनीहरू तिमीहरूका हातमा सुम्पिएका छन्। 3हरेक जीवित प्राणी तिमीहरूको भोजनको निम्ति हुनेछ। मैले तिमीहरूलाई हरियो सागपात दिएझैँ, अब तिमीहरूलाई सबै थोक दिन्छु।

4“तर तिमीहरूले मासुसँग रगतचाहिँ नखानू, जसमा त्यसको जीवन हुन्छ। 5तिमीहरूका जीवन अर्थात् रगत लिनेको निश्‍चय नै म लेखा लिनेछु। म हरेक पशुबाट प्राणको लेखा लिनेछु; र हरेक मानिसबाट पनि, अरू मानिसका प्राणको लेखा म लिनेछु।

  6“जसले मानिसको रक्तपात गर्छ,
    मानिसबाटै त्यसको पनि रक्तपात हुनेछ;
  किनकि परमेश्‍वरले मानिसलाई
    आफ्नै स्वरूपमा बनाउनुभएको हो।

7तर तिमीहरूचाहिँ फल्दै-फुल्दै र संख्यामा वृद्धि हुँदै जानू; र पृथ्वीमा फैलिँदै र यसमा बढ्दै जानू।”

8तब परमेश्‍वरले नोआ र तिनीसँग भएका छोराहरूलाई भन्‍नुभयो: 9“अब म तिमीहरूसँग र तिमीहरू पछिका सन्तानहरूसँग मेरो करार स्थापित गर्नेछु; 10अनि तिमीहरूसित भएको प्रत्येक जीवित प्राणीसित पनि—चाहे त्यो चराचुरुङ्गी होस्, चाहे घरपालुवा वा जङ्गली जनावर होस्; तिमीहरूसित जहाजबाट बाहिर निस्किआएका सबैसित—पृथ्वीका प्रत्येक जीवित प्राणीहरूसित। 11म तिमीहरूसित मेरो करार स्थापित गर्नेछु: अब उसो सबै जीवित थोकहरू जलप्रलयको पानीले नाश हुनेछैनन्; पृथ्वीलाई नष्‍ट पार्ने जलप्रलय फेरि हुनेछैन।”

12अनि परमेश्‍वरले भन्‍नुभयो, “मैले तिमीहरू र तिमीहरूसित भएका प्रत्येक जीवित प्राणी र समस्त भावी पुस्ताहरूका निम्ति स्थापित गरेको करारको चिन्ह यही हो: 13म बादलमा मेरो इन्द्रेणी राख्दछु; अनि यही नै मेरो र पृथ्वीको बीचमा बाँधेको करारको चिन्ह हुनेछ। 14जब म पृथ्वीमाथि बादल फैलाउनेछु, अनि बादलमा इन्द्रेणी देखा पर्नेछ; 15तब मैले तिमीहरूसित र हरेक किसिमका जीवित प्राणीहरूसित बाँधेको मेरो करार सम्झनेछु। अब उसो सम्पूर्ण जीवित थोक नष्‍ट गर्ने पानीको जलप्रलय कहिल्यै हुनेछैन। 16जब बादलमा इन्द्रेणी देखा पर्नेछ, तब परमेश्‍वर र पृथ्वीमा भएका हरेक किसिमका सबै जीवित प्राणीहरूसित गरिएको यो अनन्तको करारलाई म सम्झनेछु।”

17यसरी परमेश्‍वरले नोआलाई भन्‍नुभयो, “मैले म र पृथ्वीमा भएका सबै जीवितहरूबीच स्थापित गरेको करारको चिन्ह यही नै हुनेछ।”

कदम २: पुन: उही कथालाई बताउनुहोस्।

केही समय लिएर आफ्नै शब्दहरूमा कथा पुन:सुनाउनु होस। तपाईं यसलाई ठूलो स्वरमा बताउन वा यसलाई लेख्न सक्नुहुन्छ। यदि तपाइँ यस खण्डलाई सम्झन संघर्ष गर्दै हुनुहुन्छ भने, पुन: यस खण्डलाई पढ्नुहोस् वा सुन्नुहोस्।

कदम ३: कथा मनन् गर्नुहोस।

जब तपाईंलाई लाग्छ कि तपाईंले कथा राम्रोसँग बुझ्नुभयो, तब तलका प्रश्नहरूलाई सोच्नुहोस र छलफल गर्न केही समय लिनुहोस्।


Get it on Google Play
Download on the App Store

Get Discovery Bible Studies on your phone

Discover copyright ©2015-2025 discoverapp.org

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™. Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. “Biblica” संयुक्त राज्य अमेरिका पेटेन्ट एण्ड ट्रेडमार्क अफिसमा Biblica, Inc. द्वारा दर्ता गरिएको ट्रेडमार्क हो। अनुमतिसहित प्रयोग गरिन्छ।