
निम्न लिखित खण्ड पढ्नुहोस् वा सुन्नुहोस् ।
पाप शुद्धीकरण बलि
4:1याहवेहले मोशालाई भन्नुभयो, 2“इस्राएलीहरूलाई यसो भन्: ‘जब कसैले अनजानमा पाप गर्छ र याहवेहका आज्ञाअनुसार निषेध गरिएको काम गर्छ भने—3“ ‘यदि प्रधान पुजारीले पाप गर्छ र मानिसहरूमाथि दोष ल्याउँछ भने त्यसले आफूले गरेको पापका निम्ति पाप शुद्धीकरण बलिको रूपमा याहवेहकहाँ एउटा बाछा ल्याओस्। 4त्यसले त्यस बाछालाई समागम पालको प्रवेशद्वारमा याहवेहको सामु प्रस्तुत गरोस्। त्यसले आफ्नो हात त्यसको शिरमाथि राखेर त्यसलाई याहवेहको सामु मारोस्। 5त्यसपछि प्रधान पुजारीले बाछाको रगतबाट केही लिएर त्यसलाई समागम पालभित्र ल्याओस्। 6त्यसले आफ्नो औँला रगतमा चोपेर त्यसबाट केही समागम पालको पर्दाको सामु याहवेहको अगिल्तिर सात चोटि छर्कोस्। 7त्यसपछि पुजारीले केही रगत समागम पालमा याहवेहको सामु भएको सुगन्धित धूपको वेदीका सिङहरूमाथि लगाओस्। उब्रेको रगतलाई चाहिँ त्यसले समागम पालको प्रवेशद्वारमा भएको होमबलिको वेदीको फेदमा खन्याओस्। 8त्यसले पाप शुद्धीकरण बलिको बाछाबाट सबै बोसो झिकोस्; भित्री भाग र त्यससित गाँसिएको भागलाई छोप्ने बोसो, 9कम्मरनिर भएको बोसो, र दुवै मिर्गौलासमेत कलेजोलाई छोप्ने भागहरू त्यसले मिर्गौलाहरूसितै, 10मेलबलिका निम्ति बलिदान गरिएको गोरुबाट बोसो निकालेझैँ निकालोस्। त्यसपछि पुजारीले तिनलाई होमबलिको वेदीमाथि जलाओस्। 11तर त्यस बाछाको छाला, त्यसका सबै मासु, टाउको, खुट्टाहरू, भित्री भागहरू र गोबर— 12अर्थात् बाछाको सबै उब्रेका भागहरू त्यसले छाउनीको बाहिर शुद्ध गरिएको ठाउँमा खरानी फ्याँक्ने ठाउँमा लैजाओस्। अनि त्यसलाई खरानीको थुप्रोमाथि दाउराको आगोमा जलाओस्।
13“ ‘यदि इस्राएलीहरूका सारा समुदायले अनजानमा पाप गर्छन्, र याहवेहका आज्ञाहरूमध्ये निषेध गरिएका कुनै काम गर्छन् भने त्यो समुदाय अज्ञानी भए तापनि तिनीहरू दोषी हुन्। 14जब आफूले गरेका पाप तिनीहरूलाई थाहा हुन्छ, तब समुदायले पाप शुद्धीकरण बलिस्वरूप एउटा बाछा ल्याएर समागम पालको सामु लिएर आऊन्। 15समुदायका प्रधानहरूले याहवेहको सामु बाछाको शिरमाथि आफ्ना हातहरू राखेपछि त्यो बाछा याहवेहको सामु मारियोस्। 16त्यसपछि प्रधान पुजारीले त्यस बाछाको केही रगत लिएर समागम पालभित्र ल्याओस्। 17त्यसले आफ्नो औँला रगतमा चोपेर याहवेहको अगि पर्दाको सामु सात चोटि छर्कोस्। 18त्यसले केही रगत समागम पालमा याहवेहको सामु भएको वेदीका सिङहरूमा लगाओस्। बाँकी रहेको रगत त्यसले समागम पालको प्रवेशद्वारमा भएको होमबलिको वेदीको फेदमा खन्याओस्। 19त्यसले सबै बोसो त्यसबाट निकालोस् र त्यसलाई वेदीमाथि जलाओस्। 20अनि त्यस बाछालाई पाप शुद्धीकरण बलिको बाछालाई गरेझैँ गरोस्। यसरी पुजारीले तिनीहरूका निम्ति प्रायश्चित गरून्; अनि तिनीहरूलाई क्षमा गरिनेछ। 21त्यसपछि त्यसले बाछालाई छाउनीको बाहिर लैजाओस्, र त्यसलाई पहिलो बाछालाई जस्तै जलाओस्। यो समुदायका निम्ति पाप शुद्धीकरण बलि हो।
22“ ‘जब कुनै अगुवाले अनजानमा पाप गर्छ, र याहवेह आफ्नो परमेश्वरका आज्ञाहरूमध्ये निषेध गरेको कुनै काम गर्छ, त्यो दोषी हुन्छ। 23जब त्यसले गरेको पाप त्यसलाई प्रकट गराइन्छ, तब त्यसले बलिको रूपमा एउटा निष्खोट बोका ल्याउनुपर्छ। 24त्यसले बोकाको शिरमाथि आफ्नो हात राखोस्, र त्यसलाई याहवेहको सामु होमबलि मारिने ठाउँमा मार्नुपर्छ। यो पाप शुद्धीकरण बलि हो। 25त्यसपछि पुजारीले पाप शुद्धीकरण बलिको रगतबाट आफ्नो औँलाले केही लिएर होमबलिको वेदीका सिङहरूमा लगाओस् र बाँकी रहेको रगत वेदीको फेदमा खन्याओस्। 26त्यसले सबै बोसो आफूले मेलबलिलाई गरेझैँ वेदीमाथि जलाओस्। यसरी पुजारीले त्यस मानिसको पापको प्रायश्चित गर्नेछ, र त्यसले क्षमा पाउनेछ।
27“ ‘समुदायको कसैले अनजानमा पाप गर्छ, र याहवेहका आज्ञाहरूमध्ये निषेध गरेको कुनै काम गर्छ भने त्यो दोषी हुन्छ। 28जब त्यसलाई आफूले गरेको पाप प्रकट गराइन्छ, तब त्यसले आफ्नो पापका निम्ति बलिस्वरूप एउटा निष्खोट पाठी ल्याओस्। 29त्यसले त्यस पाप शुद्धीकरण बलिको शिरमाथि आफ्नो हात राखेर त्यसलाई होमबलि चढाउने ठाउँमा मारोस्। 30त्यसपछि पुजारीले आफ्नो औँलाले त्यसबाट केही रगत लिएर होमबलिको वेदीका सिङहरूमा लगाओस्, र बाँकी रहेको रगत वेदीको फेदमा खन्याओस्। 31मेलबलिबाट बोसो निकालेझैँ त्यसले सबै बोसो झिकोस्। अनि पुजारीले त्यसलाई याहवेहलाई मनपर्ने बास्नाको रूपमा वेदीमाथि जलाओस्। यसरी पुजारीले त्यसका निम्ति प्रायश्चित गर्नेछ, र त्यसले क्षमा पाउनेछ।
32“ ‘यदि त्यसले आफ्नो पाप शुद्धीकरण बलिको रूपमा एउटा भेडाको पाठी ल्याउँछ भने त्यसले निष्खोट पाठी ल्याओस्। 33त्यसको शिरमाथि त्यसले आफ्नो हात राखोस् र त्यसलाई पाप शुद्धीकरण बलिको रूपमा होमबलि मारिने ठाउँमा मारोस्। 34त्यसपछि पुजारीले आफ्नो औँलाले पाप शुद्धीकरण बलिको रगतबाट केही लिएर होमबलिको वेदीका सिङहरूमा लगाओस्। अनि बाँकी रहेको रगत वेदीको फेदमा खन्याओस्। 35मेलबलिको भेडाको पाठोबाट बोसो निकालेझैँ त्यसले सबै बोसो झिकोस्। अनि पुजारीले त्यसलाई याहवेहलाई होमबलिको रूपमा चढाइने बलिको रूपमा वेदीमाथिको टुप्पोमा जलाओस्। यस किसिमले पुजारीले त्यसको लागि त्यसले गरेको पापको प्रायश्चित गर्नेछ, र त्यसले क्षमा पाउनेछ।
केही समय लिएर आफ्नै शब्दहरूमा कथा पुन:सुनाउनु होस। तपाईं यसलाई ठूलो स्वरमा बताउन वा यसलाई लेख्न सक्नुहुन्छ। यदि तपाइँ यस खण्डलाई सम्झन संघर्ष गर्दै हुनुहुन्छ भने, पुन: यस खण्डलाई पढ्नुहोस् वा सुन्नुहोस्।
जब तपाईंलाई लाग्छ कि तपाईंले कथा राम्रोसँग बुझ्नुभयो, तब तलका प्रश्नहरूलाई सोच्नुहोस र छलफल गर्न केही समय लिनुहोस्।
Get Discovery Bible Studies on your phone
Discover copyright ©2015-2025 discoverapp.org
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™. Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. “Biblica” संयुक्त राज्य अमेरिका पेटेन्ट एण्ड ट्रेडमार्क अफिसमा Biblica, Inc. द्वारा दर्ता गरिएको ट्रेडमार्क हो। अनुमतिसहित प्रयोग गरिन्छ।